नेपालमा निजिका केही डाक्टरहरुको लुट धन्धा || Doctor Exposed

केही समय अघि नयाँ मुलुकी ऐनमा डाक्टरहरुले उपचारमा लापर्वाही गरेमा तिनीहरलाई कारवाही गर्ने प्रावधान ल्याइएपछि डाक्टरहरु आन्दोलनमा उत्रिएका हामी सबैलाई थाहा छ । यसको अर्थ उनीहरुलाई लापरवाही गर्न छुट चाहिएकै रहेछ भन्ने बुझिन्छ सो आन्दोलनले गर्दा कि कसो ?


यो मुलुकमा तीनवटा पेशाका मान्छेले आफूलाई निकै अब्बल, कसैले छुनै नहुने, अरु भन्दा श्रेष्ठ, एक प्रकारले भन्ने हो भने कुनै पनि कानुनले छुनै हुन्न भन्ने खालका व्यवहार प्रदर्शन गर्दै आएका छन् । ती हुन्, डाक्टर, वकिल र पत्रकार ।

गलत फैसला गरेमा बरु न्यायाधीशमाथि कारवाही भएका कैयौं उदाहरण छन् । भ्रष्टाचार प्रमाणित भएर जेल गएका नेता, कर्मचारी, प्रहरीका उच्च अधिकारीका धेरै उदाहरण छन् । तर, गलत मुद्दा लड्ने, गलत प्रमाण पेश गर्ने वकिलहरुलाई कारवाही गरिएको वा उनीहरुको लाइसेन्स खारेज गरिएको समाचार सुन्न पाइएको छैन । गलत समाचार, एक प्रकारले पूरापूर पहेंलो पत्रकारिता गर्ने पत्रकारहरुलाई पनि कुनै कारवाही भएको सुन्न पाइएको छैन । उनीहरुले खण्डन छापेर उन्मुक्ति पाएका छन् ।

डाक्टरहरुको आन्दोलनले देखाएको सन्देश के हो भने उनीहरु लापरवाही गर्दा पनि कारवाही हुन नपरोस् भन्ने चाहन्छन् । यो भिडियोमा डाक्टरहरुको होइन, डाक्टरी पेशामा फैलिएका विकृतिहरुका बारेमा चिरफार गर्ने प्रयास मात्र हो ।

डाक्टरी पेशालाई समाजमा धेरै सम्मानित पेशाका रुपमा लिइन्छ । तर, यसभित्र मौलाएका विकृतिहरुलाई केलाउने हो भने सेतो कोट लगाएर कैयौं काला धन्दाहरु मौलाएका छन् । ती धन्दाहरु अपवादको रुपमा होइन कि पेशाको रुपमा फैलिएका छन् । यो भिडियोमा ती धन्दाहरुलाई रडारमा लिने प्रयास गरिएको छ ।


धन्दा नम्बर १ः दुर्गममा जानै नमान्ने : 

सरकारले सयौं डाक्टरहरुलाई गाउँका वा दुर्गमका अस्पतालहरुमा दरबन्दीसहित खटाएको छ । त्यसवापत सेवासुविधा पनि दिएको छ । तर सरकारी दरबन्दीमा रहेका डाक्टरहरु दुर्गमका जिल्ला वा गाउँहरुमा उपचारको रुपमा जानै मान्दैनन् वा गए पनि थोरै समय बस्छन् । कि विदा हालेर बस्छन्, कि सरुवा मिलाइहाल्छन् ।


धन्दा नम्बर २ः पूरा समय डिउटी नगर्ने :

सरकारी अस्पतालमा धेरै डाक्टरहरुले पूरा समय डिउटी गर्ने गर्दैनन् । उनीहरुले सरकारी अस्पतालमा सेवा गर्नुपर्ने समयमा निजी अस्पताल वा क्लिनिकमा समय दिइरहेका हुन्छन् । केही महिना पहिलेसम्म बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म ओपीडीमा विरामी जाँच्ने गरिन्थ्यो भने आजभोलि ४ बजेसम्म बिरामी जाँच्नुपर्ने नियम बनाइएको छ । तर, डाक्टरहरुले पूरा अवधि बिरामी जाँच्ने गर्दैनन् । उनीहरुले सरकारी अस्पतालमा सेवा गर्नुपर्ने समयमा निजी अस्पताल वा क्लिनिकमा समय दिइरहेका हुन्छन् । पहिले उनीहरुले २ बजेसम्म पनि पूरा समय सेवा गर्दैनथे भने ४ बजेसम्म गराएपछि पूरा समय बिरामी जाँच्ने कुरा त लागु भएकै छैन । 


धन्दा नम्बर ३ः सरकारी अस्पतालबाट विरामी रेफर : 

गाउँमा नगएका डाक्टरहरु सहरमा बस्छन् । उनीहरु गाउँमा त गएनन् नै, सहरमा रहेका सरकारी अस्पतालमा पनि राम्रोसित विरामी जाँच्दैनन् । उनीहरुले निजी अस्पताल वा क्लिनिकमा नै अधिकांश समय विताउने गर्दछन् ।

त्यति मात्रै होइन, सरकारी अस्पतालमा गएका विरामीहरुलाई निजी अस्पताल र क्लिनिकहरुमा रेफर गरिदिन्छन् । त्यसरी सरकारी अस्पतालमा सेवा लिन गएका बिरामीहरु बाध्य भएर निजी अस्पतालमा जान्छन् । डाक्टरहरुमा मौलाएको यो सबैभन्दा ठूलो धन्दा हो । यो धन्दाबाट सरकारी अस्पतालका धेरै डाक्टर अछुतो छैनन् । यो धन्दाको कारणले जनताको सरकारी अस्पतालप्रतिको विश्वास घट्दो छ भने बिरामी निजी अस्पतालमा धाउन र चर्काे शुल्क तिर्न बाध्य छन् ।

निजी अस्पतालले घरखेत गरिदिएका केही समाचार त आउँछन् । तर, समाचारमा नआएका, घरखेत गरिदिएका विरामी हजारौंको संख्यामा छन् भन्ने कुरा अनुमान गर्न गाह्रो पर्दैन । यो एउटा अनुसन्धानको विषय हो भने गरिब जनताका लागि कहालीलाग्दो अवस्था हो ।

दुर्गममा नगए पनि सुगमका अस्पतालमा बसेर राम्रो उपचार गरे हुने हो भन्ने सबैलाई लाग्न सक्छ । तर, उनीहरु सुगममा बसेको पनि विरामीलाई सहीप्रकारबाट सरकारी अस्पतालबाटै सेवा दिनको लागि होइन, सरकारी अस्पताल दरबन्दीमा बसेर निजी अस्पताल वा क्लिनकबाट कमाउ धन्दामा लाग्नको लागि हो भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।


धन्दा नम्बर ४ः दुई मिनेटमा ५ सय कमाइ :

निजी अस्पतालमा पनि एउटै डाक्टरले एक दिनमा २ सयसम्म बिरामी जाँचेका कैयौं उदाहरण भेटिन्छन् । उनीहरुले आफ्नो २–३ मिनेटको समयमा विरामीको अनुहार पनि राम्रोसित नहेरीकनै ल्याब टेस्ट र औषधिको प्रेस्कृप्सन लेख्न हतारो भइसक्छ । डाक्टर साबहरु, एक सय रुपैयाँको एक मिनेट समय बिरामीका लागि छुट्याउनुपर्दैन ? त्यसो गर्दा ५ सय रुपैयाँको ५ मिनेट हुन आउँछ । ती डाक्टरहरुलाई २ मिनेटमा ५ सय रुपैयाँ किन कमाउनुपरेको हो ? डाक्टरी पेशा २ मिनेटमा ५ सय कमाउने पेशा होइन । तर कैयौं निजी अस्पतालमा पनि त्यही धन्दा चलिरहेका छ । यसमा ति डाक्टर साहेबले आफ्नै फार्मेसीबाट महँगा औषधिहरू अनिवार्य रूपमा किन्न लगाउने गर्छ ।


धन्दा नम्बर ५ः लिंग पहिचान गरेर भू्रणहत्या : 

आज स्त्री भ्रुणहत्याले भयावह रुप लिएको छ । एक सयमा ५९ छोरा जन्मिँदा ४१ छोरी जन्मिएको भनेर समाचार आइरहेका छन् । काठमाडौंको थापाथली प्रसुती गृहको तथ्यांक पनि त्यस्तै खालको छ । छोराछोरी जन्मिने असमान रुप लिनुमा प्रमुख रुपमा डाक्टरहरु नै दोषी छन् । कानुनले कुनै पनि अवस्थामा पेटभित्रको बच्चाको लिंग पहिचान गर्न दिँदैन । झन् लिंग पहिचान गरेर भ्रुणहत्या गर्नु त अपराध नै हो । तर, यो सब डाक्टरहरुकै कारण भइरहेको छ । निजी अस्पतालका धेरै डाक्टरहरु यही धन्दामा छन् । तिनै डाक्टरले सरकारी अस्पतालमा पेटमा बच्चाको लिंग बताइदिन्नन् । उनीहरु सरकारी अस्पतालमा झण्डै पूरापूर इमान्दारी देखाउँछन् । तर, जब तिनै डाक्टरहरु निजी अस्पतालमा आउँछन्, उनीहरुको धन्दा सुरु भइहाल्छ । त्यसवापत उनीहरुले अकूत पैसा लिइरहेका छन् ।


धन्दा नम्बर ६ः औषधिमा कमिसन :

डाक्टरहरुलाई धेरै आरोप आउने गर्दछ कि उनीहरुले प्रायोजित कम्पनीका औषधिहरु चलाउने गर्दछन् । उनीहरुले कुनै निश्चित पसलमा पाइने औषधि सिफारिस गर्छन्, एक प्रकारले भन्ने हो भने त्यहीँका मान्छेले बुझिने अक्षर लेख्ने गर्दछन् ।

आमरुपमा डाक्टरहरुले किन नराम्रा अक्षर लेख्छन् ? त्यसो हुनुको कारण के हो ? अब्बल क्षमता भएका व्यक्तिहरुले नै डाक्टरी पढ्ने गर्दछन् । उनीहरुका अक्षर पनि पढ्ने बेलामा राम्रा हुन्छन् । ट्यालेन्ट विद्यार्थीका अक्षर पनि राम्रा नै हुन्छन् । तर, जब उनीहरु डाक्टर बन्छन्, कसैले पनि नबुझिने अक्षर लेख्न थाल्छन् । यसो किन गरिन्छ ? यसभित्रको धन्दा के हो ? औषधिका नामहरु औषधि पसलेहरुले मात्रै बुझेर हुन्छ कि बिरामीले पनि बुझ्नुपर्दछ ? कुरा जे भए तापनि अक्षरबाट धन्दा सुरु हुन्छ र औषधि कम्पनी र व्यापारीहरुले डाक्टरलाई दिने कमिसनमा पुगेर कुरा टुंगिन्छ भन्ने कुरालाई धेरै नै बल पुगेको छ ।

यो धन्दा औषधि कम्पनीका बजार प्रतिनिधि (एमआर) मार्फत् व्यापक मात्रामा फैलिएको छ । औषधि कम्पनीका बजार प्रतिनिधिहरुबाट पनि प्रष्ट थाहा पाउन सकिन्छ धेरै डाक्टरहरुलाई औषधि कम्पनीले आफ्नो औषधि सिफारिसको लागि किनेका हुन्छन् । के यो डरलाग्दो अवस्था होइन ? औषधि कम्पनी र डाक्टरहरुको सम्बन्ध आवश्यक नै छैन । डाक्टरहरुको सम्बन्ध त औषधिसँग हो र हुनुपर्दछ ।


धन्दा नम्बर ७ः ल्याबमा कमिसन : 

डाक्टरहरुले ल्याब परीक्षणमा पनि उत्तिकै कमिसन लिने गरेका हुन्छन् । भिडियो एक्सरे, ल्याब, सीटीस्क्यान आदि परीक्षणमा उनीहरुले कमिसन नलिई काम गर्दैनन् भने पनि हुन्छ ।

उदाहरण दिने हो भने यदि कुनै डाक्टरले भिडियो एक्सरे वा ल्याब परीक्षण गर्न पठाउँछ भने कुन डाक्टरले पठाएको हो भन्ने ल्याबमा रेकर्ड राखिन्छ र उनीहरुलाई कमिसन दिइन्छ । हप्ताको अन्तिम दिन वा महिनाको अन्तिम दिन ल्याबले सिफारिस गरिएको आधारमा डाक्टरलाई कमिसन बुझाउनुपर्दछ ।

डाक्टरहरु एमबीबीएस वा एमडी गरेका हुन्छन् । तर, उनीहरुले आफू भन्दा तल्लो योग्यता हासिल गरेका ल्याब टेक्निसियनहरुबाट कमिसन लिइरहेका हुन्छन् । २ मिनेटमा एकजना बिरामी जाँचेवापत ५ सयले नपुगेर आफूभन्दा तल्लो योग्यता र मेहनताको पसिनाबाट पनि उनीहरुले कमिसन लिने गर्छन् ।

सामान्य ल्याब टेक्निसियनहरुबाट त कमिसन लिने डाक्टरहरुले करोडौंका मालिक औषधि कम्पनीहरुबाट कमिसन नलिने कुरै भएन । यदि डाक्टरहरुले ल्याबमा कमिसन नलिने हो भने ल्याब शुल्क ४० प्रतिशत सस्तो पर्न जान्छ ।


धन्दा नम्बर ८ः अनावश्यक विरामीको भर्ना :

उही प्रकृतिको विरामी सरकारी अस्पतालमा गयो भने सामान्य जाँच, ल्याब परीक्षण र औषधि लेखेर घर पठाइन्छ । तर, उही बिरामी निजी अस्पतालमा गयो भने त्यसलाई गम्भीर समस्या देखाएर भर्ना गर्न लगाइन्छ ।

बिरामी भर्नाबाट अस्पताल र डाक्टरहरुलाई धेरै नै फाइदा हुन्छ । भर्ना गर्नु नपर्ने धेरै बिरामीलाई भर्ना गरिएको भोग्ने हजारौं बिरामीका आफन्त छन् । त्यसमध्येको भुक्तभोगी म आफैं पनि हुँ । बिरामी भर्ना गरेर उपचार गरिनु नराम्रो होइन, तर सबै प्रकारका बिरामीको भर्ना गर्नुपर्दैन ।

डाक्टरहरुले पनि अस्पतालमा आए जति सबै विरामी भर्ना त गर्दैनन्, तर नगर्नु पर्ने बिरामी भर्ना गरेर उपचार गरिएका उदाहरण धेरै पाइन्छन् । यो अनावश्यक र अनधिकृत तरिका हो । यसले उपचारलाई महंगो बनाइदिन्छ भने निजी क्लिनिक र निजी अस्पतालाई फाइदा गर्छ । यसो गरिनुमा डाक्टरहरुको कमाउ धन्दा जोडिएको छ ।


धन्दा नम्बर ९ः अनावश्यक अपरेशन : 

सरकारी अस्पतालको तुलनामा निजी अस्पतालमा अत्यधिक अपरेशन हुने गर्दछ । औषधिबाट निको हुने पथरीलाई पनि अपरेशन गर्ने गरिन्छ भन्ने आरोप डाक्टरहरुलाई निरन्तर लाग्ने गर्छ ।

यस तर्कको दाबी के हो भने किन सरकारी अस्पतालमा एपेन्डिक्सको अपरेशन थोरै र निजीमा धेरै हुन्छ ? यो यही धन्दाले पनि काम गरेको हुन सक्छ । अर्काे दाबी के गर्न सकिन्छ भने सरकारी अस्पतालमा सामान्य प्रकारले धेरै सुत्केरी गराइन्छ । थोरै मात्रै गर्भवतीको अपरेशन गरिन्छ । तर, अपरेशन निजी अस्पतालमा अत्यधिक हुने गर्दछन् ।

अत्यधिक गर्भवतीको भीड लाग्ने सरकारी अस्पतालमा थोरै अपरेशन हुनु, तर थोरै गर्भवती हुने निजी अस्पतालमा धेरै अपरेशन हुनुले पनि त्यही कुरालाई बल पुग्छ । गर्भवतीको अपरेशन आवश्यकता भएरै गरिने गरिएको छ कि धन्दाको रुपमा गरिएको छ ? यो पनि अनुसन्धानको विषय हो । यो विषय अनुसन्धान गरिनुपर्दछ । गर्भवती अपरेशनलाई धन्दाको रुपमा विकसित गरिनुहुँदैन ।


धन्दा नम्बर १०ः बिरामीको व्यापार : 

बिरामीको व्यापार पनि त्यही प्रकारले हुने गरेको छ । केही दिनपहिले बिराटनगरको एक अस्पतालको समाचार आएको थियो । एक जना डाक्टरले बिरामी रेफर गरेको कारण अस्पताललाई भएको घाटाको क्षतिपूर्ति पनि डाक्टरबाटै भराउने । उनी इमान्दार डाक्टर थिए । आफ्नो अस्पतालमा नहुने र आफूले नसक्ने उपचारका लागि रेफर गरिदिए । 

यो घटनाबाट के प्रष्ट हुन्छ भने निजी अस्पतालमा जाने बिरामीहरु हत्तपत्त रेफर गरिँदैन । त्यहाँ कमाउने बेलासम्म बिरामीबाट असुलिन्छ र बिरामी निको पनि नहुने र टाट पल्टिने अवस्थामा मात्रै रेफर गरिन्छ । यसले एकातिर विरामी सही उपचार पाउनुपर्ने अधिकारबाट बञ्चित हुनुपर्दछ भने अर्काेतर्फ आर्थिक रुपमा ठूलो नोक्सानी व्यहोर्नुपर्दछ ।

मैले एकजना सुगर र प्रेसरको बिरामीलाई ९ दिनसम्म इमर्जेन्सीमै राखेको देखेको छु । उनलाई अन्तिममा मात्रै काठमाडौं रेफर गरियो र ती बिरामीको ज्यान गयो । यसरी बिरामीको व्यापारमा पनि डाक्टरहरु संलग्न छन् ।

धन्दा नम्बर : विविध :

धेरै डाक्टरहरुमा कमाउने प्रतिस्पर्धा धन्दाको रुपमा प्रकट भएको देखिन्छ । सरकारी अस्पतालमा दरबन्दी भएका डाक्टरहरु निजी अस्पतालमा नियुक्ति लिएर जसरी पनि पैसा कमाउनैपर्ने मनोदशाबाट ग्रसित देखिन्छन् । यसले एकातिर उनीहरुलाई विरामीको उपचार गर्ने उद्देश्यबाट विचलित गराइरहेको छ भने अर्कातिर उनीहरुलाई सेवा भन्दा पनि पैसामुखी बनाइरहेको छ ।

आफू सरहका डाक्टरले धेरै कमायो भने उसले पनि कमाउनैपर्ने मानसिकता विकास भएको पाइन्छ । डाक्टरी पेशा त्यसरी धेरै कमाउने पेशाको रुपमा विकास गरिनुहुँदैन । बिरामीको सेवा गरेवापत् उसले सहज रुपमा कुनै अभावविना जीवन जीउन पाउनुपर्छ । तर, जीवनलाई कमाउ धन्दाका रुपमा विकास गर्नु हुँदैन ।


अब अन्तिममा यि केही गलत मन्साय भएका डाक्टरहरुको मिलि भगतमा स्वास्थ्य बिमा मार्फत सरकारलाई समेत चुना लगाउने क्रियाकलाप भइरहेको छ जस्तै बिरामीहरूको केसमा आवश्यकता नभएका महँगा टेष्ट र औषधि मात्र राखेर बीमा रकम अधिकतम रूपमा असुल्ने खेल चलीरहेको छ । 

यो विषयमा अलिकति खुलेर कुरा गर्नु पर्दा बीमा बोर्डका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा मात्र २९ हजार ४४३ गुनासा आएका छन् । र, यो भन्दा अघिल्लो वर्षको तुलनामा चार गुणा बढी हो यो नम्बर । बोर्डका अनुसार आर्थिक वर्ष २०७६–०७७ मा २२ र २०७७–०७८ मा ७ हजार २६६ गुनासो प्राप्त भएको थियो । स्वास्थ्य बीमा बोर्डका अनुसार अधिकांश सरकारी अस्पतालका फार्मेसीमा बीमा सुविधाको थैलीमा परेका औषधिहरु पनि नपाएको गुनासो आइरहेका छन् । बीमा बोर्डले सेवा–सुविधा अनुसार प्याकेज बनाएको हुन्छ । त्यही प्याकेज अनुसार देशभरका स्वास्थ्य संस्थासँग बिरामीलाई सेवा दिन सम्झौता गरिएको हुन्छ । तर अस्पतालले बीमा प्याकेजबाट नाफा हुने भए औषधि दिन्छन् । बीमाबाट भन्दा व्यक्तिगत लिँदा फाइदा हुने रहेछ भने औषधि छैन भन्ने ट्रेन्ड देखिएको छ ।

बोर्डको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७८–०७९ मा ६४ लाख ८५ हजार ८७२ केसको दाबी परीक्षण भएका छन् । स्वास्थ्य उपचार बापत १० अर्ब ६४ करोड ९८ लाख ६९ हजार ७३१ रुपैयाँ बीमा बोर्डमा दाबी परेको छ । बिरामीको उपचार गर्दाको कागजपत्र हेरेर ९ अर्ब ९३ करोड ११ लाख ९८ हजार ४०१ रुपैयाँ स्वास्थ्य संस्थालाई शोधभर्नाका लागि सिफारिस गरेको थियो । यसरी रुजु गर्दा ७१ करोड ७७ लाख १ हजार ३३० रुपैयाँ अस्वाभाविक दाबी भएको बोर्डको ठहर थियो ।

यि डाक्टरहरु इमान्दार भइदिएको भए यो समस्या नै आउने थिएन जुन आज स्वास्थ्य बिमा नै धरापमा पर्ने समस्या बढेको छ । समयमा स्वास्थ्य सेवा तथा औषधि नपाउने, बीमा गरेका र नगरेका बिरामीको सेवामा फरक भएको तथा थप उपचारका लागि ठूला अस्पतालमा ‘रिफर’ गर्दा आवश्यक कागजात सहज नपाउने जस्ता कारणले बीमा कार्यक्रम जति विस्तारित हुनुपर्ने थियो, त्यति हुन सकेको छैन ।

अन्त्यमा, माथि उल्लेख गरिएका धन्दामा सबै डाक्टर सामेल छन् भन्ने यो भिडियोको आशय होइन । स्वास्थ्यको क्षेत्रमा, मूलतः निजी अस्पताल, क्लिनिकहरुमा जे जति विकृति, विसंगति, लापर्वाहीहरु देखिएका छन्, त्यहाँ डाक्टरहरु संलग्न छन् । डाक्टरले आचारसंहिता पालना गर्ने हो भने स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या हटाउन धेरै मद्दत पुग्ने थियो ।

डाक्टरहरुको पेशा पवित्र पेशा हो । तर, यसभित्र मौलाएका यस्ता विकृतिहरु तत्काल हटाउन आवश्यक छ । जनताको स्वास्थ्य सेवामा कुनै सम्झौता गर्न मिल्दैन ।

अनलाइन खबरको स्तम्भबाट साभार




Post a Comment

0 Comments